एन्फामा कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ कार्यसमितिका लागि निर्वाचनमा होमिएको छ । अबको केही घण्टाभित्र त्यसको नतिजा आउनेछ । आगामी चार वर्षे कार्यकालका लागि कर्माछिरिङ शेर्पा, पंकज नेम्वाङ र राजिवराज पौडेल नेतृत्वको लडाईंमा छन् । 

फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेल आफैसँग पनि मताधिकार नभएका कारण उनको पक्षमा एक दुई मत आए पनि अचम्म मान्नुपर्ने अवस्था छैन । त्यसकारण अहिलेको मुख्य प्रतिष्पर्धा शेर्पा र नेम्वाङ बीच हो । जो चार वर्षअघि एकै खेमामा थिए । अहिले पानी बाराबारको स्थितिमा छन् । अघिल्लो निर्वाचनमा शेर्पासँगै रहेका नवीन पाण्डे पनि अहिले नेम्वाङसँगै उभिएका छन् । 

पाण्डे र नेम्वाङ दुबैका पछाडि एन्फा पूर्व अध्यक्ष गणेश थापाको उभिएका छन् । जसका विरुद्ध चार वर्षअघि शेर्पा, नेम्वाङ र पाण्डेले ‘चेन्ज एन्फा’को नारामा आन्दोलन छेडेका थिए । एन्फा चुनावका अर्का सदावहार खेलाडी टासी घले भने यसपटक गुमनाम बनेका छन् ।

कार्यसमितिको निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ खुलागरी २१ सदस्य पदका लागि निर्वाचन हुँदैछ । वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङ आ–आफ्नो प्यानलसहित अन्तिम तयारीमा छन् । त्यसमा पौडेलले ‘च्याँखे’ थापेका छन् । 

क्लोज क्याम्पमा मतदाता

आज सोमबार हुने एन्फा निर्वाचनमा दुईवटै पक्षले आफू जित्ने दाबी गरेका छन् । एन्फा निर्वाचनमा हार्ने पक्का भएको एक मात्र व्यक्ति हुन्, राजिव पौडेल । अरु सबैको सम्भावना उत्तिकै छ । त्यसैले त दुबैले पक्ष मतदातालाई आकर्षित गर्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेका छन् । 

दुबै पक्षले आफ्नो मतदातालाई अरुले प्रभावित पार्न नसकोस् भनेर होटलमा राखेका थिए । शेर्पा पक्षको ‘क्लोज क्याम्प’ शिबपुरीमा थियो भने नेम्वाङ पक्षको गोदावरीमा । यसअघि आ–आफ्नो पक्षमा मतदाता धेरै भएको दाबी गर्ने शेर्पा र नेम्वाङ पक्षले ‘क्लोज क्याम्प’मा समेत आफूसँग मतदाता धेरै भएको दाबी गरेका छन् ।

 नेम्वाङ पक्षले आइतबार राति आफ्नो क्लोज क्याम्पमा ४७ मतदाताले सामुहिक प्रतिवद्धता जनाएको दाबी गरेका छन् । त्यस्तै कर्मा पक्षले पनि आफूसँग ४० मतदाता रहेको दाबी गरेका छन् । एन्फामा कुल ८४ मत मात्र छ । अझ विभागीय टिमका मतदातालाई दुबै पक्षले गणना गरेका छैनन् । त्यस्तै शेर्पा पक्षले हिमालयन शेर्पालगागत क्लबहरूको मतगणना गरेका छैनन् । त्यसकारण दुबैले दाबी गरेको मतदाता संख्या गन्ने हो भने ९० भन्दा माथि पुग्छ । आज बेलुकासम्म छिनोफानो हुनेछ ।  

अध्यक्ष पदका उमेदवार 

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेल ।

वरिष्ठ उपध्यक्ष पदमा 

शेर्पा पक्षबाट सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली र नेम्वाङ पक्षबाट वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का ।

उपाध्यक्ष पदमा 

शेर्पा पक्षबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा ।

नेम्वाङ पक्षबाट काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा ।

खुला सदस्य पदमा 

शेर्पा पक्षबाट प्रविणकुमार यादव, रूपेश अधिकारी, दीपक थापा, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टिकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुदथापा, अनील श्रेष्ठ, रमेश व्यन्जनकार, मणिराज विष्ट, विनोद लामा र मनिश जोशी ।

नेम्वाङ पक्षबाट भोजराज शाही, नेपाल कार्की, प्रवीण सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय घले, तपेश्वरकुमार राउत,  विकासनारायण श्रेष्ठ, निरज खड्गी, दीपेन्द्र धिमाल, अनिल मल्ल, रवीन्द्र चन्द र मुखिया लामा लिली ।

महिला सदस्य पदमा 

शेर्पा पक्षबाट पेमा डोल्मा लामा र विना श्रेष्ठ । 

नेम्वाङ पक्षबाट– विन्द्रा देवान र सरिला श्रेष्ठ ।

एन्फा चुनावमा मतदाता संख्या

जिल्लाबाट ४२, ‘ए’ डिभिजन लिगको क्लबबाट १४, ‘बी’ डिभिजन लिगको क्लबबाट ११, ‘सी’ डिभिजन लिगको क्लबबाट ९, खेलाडी संघ, प्रशिक्षक संघ, रेफ्री संघ, महिला संघ र एन्फा प्रेसिडेन्ट कपबाट राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबको ४ गरी कुल ८४ मत रहेको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्