काठमाडौं अदालतका ३ न्यायाधीश छानबिनमा

काठमाडौं, ९ असार  । काठमाडौं जिल्ला अदालतका एकपछि अर्को न्यायाधीश छानबिनमा तानिएका छन् ।

बुधबार जिम्मेवारी खोसिएका राजकुमार कोइराला जिल्ला अदालतका तेस्रो न्यायाधीश हुन् । यसअघि अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्चमा काजमा झिकाएर छानबिन भइरहेको छ । काठमाडौं अदालतका न्यायाधीश निरौलालाई चैत मध्यमै सर्वोच्च तानिएको हो ।

उनले अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीलाई सफाइ दिएको, मिटरब्याजी मुद्दाका प्रतिवादीलाई पनि सफाइ दिने आदेश गरेको र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको सांघातिक आक्रमण तथा ज्यान मार्ने उद्योगका प्रतिवादीलाई धरौटीमा रिहा गरेको विषयमा उजुरी परेपछि उनी छानबिनमा तानिएका हुन् ।

काठमाडौंकै अर्का जिल्ला न्यायाधीश अधिकारी भने मादक पदार्थ सेवन गरी फुटपाथमा हिँडिरहेकी महिलालाई कारले ठक्कर दिएको मुद्दामा कानुनी छिद्र खोजेर सक्दो कम सजाय गरेको आरोपमा जाँचबुझमा परेका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्