स्कटल्याण्ड र नामिबिया सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं, १२ असार । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिज र क्यानडामा हुने दुई एकदिवसीय अभ्यास सिरिजका लागि नेपाल टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषित टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी छन् ।

यसअघि क्यानाडामा नेपाल र घरेलु टोलीबीच हुने भनिएको २ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नहुने  भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि जुन २८ र जुन २९ मा नेपाल र क्यानाडाबीच दुई खेलको टी-ट्वान्टी सिरिज हुने तालिका रहेको थियो । 

क्यान अनुसार अब नेपाल र क्यानाडाबीच दुई खेलको एकदिवसीय सिरिज हुनेछ । नेपाल र क्यानाडाबीच जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको छ । एकदिवसीय सिरिज अघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानुअघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो । नेपाली टिम जुन २८ मा क्यानाडा पुग्ने तालिका छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्