मानसिक रोग एक गम्भीर रोग हो । मानसिक रोगी भएका विरामीले उपचार नपाएमा त्यस्ता रोगीहरुले आत्महत्यासम्म गर्न सक्छन् । मानसिक विरामी बेसुरले हिँड्ने, आफू र अरुलाई हानी नोक्सानी पुराउन सक्ने, जथाभावी बोल्ने, नराम्रो व्यवहारसम्म गर्छन् । निराश हुने, रुन मन लाग्ने, केही गर्न मन नलाग्ने, पहिला रमाइलो हुने कार्य रमाइलो नहुने, जाँगर नहुने, निन्द्रा—भोक कम हुने, ध्यान एकाग्र नहुने, बिना कारण डर लाग्ने, मुटुको धड्कन बेसी हुने, पसिना आउने, छटपट हुने, शरीर दुख्ने, झसँग हुने, शरीर काप्ने, बेसुरको हुने, नभएका कुरा देख्ने, सुन्ने, महसुस गर्ने, शंका हुने, आफ्नो सोचमा अरुकै नियन्त्रण भएको महसुस हुनेलगायतका लक्षण भनेको मानसिक रोगको लक्षण भएको मानसिक रोग विशेषज्ञ डा. दिपक कुवर बताउनु हुन्छ । यस्तै विषयलाई लिएर मानसिक रोगसम्बन्धी उपचार विधि, लक्षणलगायतका विषयलाई लिएर डा. दिपक कुवरसँग खोजतलासले गरेको संक्षिप्त कुराकानी ः
० मानसिक रोग भन्नाले कस्तो खाले रोगलाई बुझिन्छ ?
मानसिक रोग भन्नाले त्यस्तो रोग हो जसले हाम्रा सोच, भावना तथा व्यवहारमा परिवर्तन ल्याउँछ । यस्ता रोग जो कोहीलाई लाग्न सक्छ । उदाहरणको लागि डिप्रेसन, मनोत्रास, बेसुरापन तथा अन्य कडा मानसिक लक्षण भएको जस्तै नभएको कुरा देख्ने, सुन्ने, महसुस हुने ।
० मानकिस रोग लाग्नुको कारण के हो ?
मानसिक रोग लाग्नुको कारण धेरै छन् । विभिन्न धेरै कारण मिलेर यसले रोग उत्पन्न गर्छ । जस्तै वंशाणुगत— परिवारमा कसैलाई मानसिक रोग छ भने, कस्तो वातावरणमा हुर्किएको, बसेको तथा सामाजिक वातावरण, तनाव— शारीरिक, मानसिक तनाव तथा अन्य कुनै रोगको कारण, छारे, टाउकाको विभिन्न रोगका कारणले पनि मानसिक रोग लाग्न सक्छ ।
० पछिल्लो समय कस्ता उमेरका व्यक्तिहरुलाई मानसिक रोग बढी लाग्ने गरेको पाइन्छ ?
मनसिक रोग जुनसुकै उमेरकाका व्यक्तिहरुलाई हुन सक्छ । मानसिक रोग उमेर अनुसार पनि देखिन्छन् जस्तै ः
—डिप्रेसन— किशोर अवस्था, बढेसकालमा
—मनोत्रास ः किशोर अवस्था, मध्यम उमेर
— उनमाद रोग ः किशोर अवस्था, मध्यम उमेर तथा किशोर अवस्था अगाडि
० मानसिक रोग लागेको कसरी थाहा पाउने ?
मनसिक रोग लागेको आफूले महसुस गरेर अथवा अरुले लक्षण देखेर थाहा पाउन सकिन्छ । जस्तै, उनमाद रोगमा ः त्रास हुने, बेसुर भएर हिँड्ने, हिंश्रक हुने, बेसी बोल्ने तथा आफूले महसुस गर्ने कुराहरु जस्तै डर लाग्ने, निराश हुने, निन्द्रा नलाग्ने, रुन मन लाग्ने, यस्ता लक्षण बिना कुनै कारण लामो समयसम्म भइरहेमा, निरन्तर रुपमा यसले असर गरेमा मानसिक रोग लागेको थाहा पाउन सकिन्छ ।
० मानसिक रोग लागेको व्यक्तिका लक्षणहरु कस्ता हुन्छन् ?
मानसिक रोग लागेको व्यक्तिका लक्षणहरु रोग अनुसार फरक—फरक हुन्छन् । जस्तै
डिप्रेसन ः निराश हुने, रुन मन लाग्ने, केही गर्न मन नलाग्ने, पहिला रमाइलो हुने कार्य रमाइलो नहुने, जाँगर नहुने, निन्द्रा—भोक कम हुने, ध्यान एकाग्र नहुने ।
मनोत्रास ः बिना कारण डर लाग्ने, मुटुको धड्कन बेसी हुने, पसिना आउने, छटपट हुने, शरीर दुख्ने, झसँग हुने, शरीर काप्ने ।
उनमाद रोग ः बेसुरको हुने, नभएका कुरा देख्ने, सुन्ने, महसुस गर्ने, शंका हुने, आफ्नो सोचमा अरुकै नियन्त्रण भएको महसुस हुने ।
० मानसिक रोगका चुनौतिहरु के छन् ?
मानसिक रोगमा हुन सक्ने चुनौतिहरु धेरै छन् ।जस्तै ः
(क) आफ्नो लक्षण थाहा हुँदा हुँदै रोगको बारेमा अज्ञानताका कारणले रोग हो भनी थाहा नहुने ।
(ख) रोग छ भन्ने थाहा हुँदा हुँदै मान्छे, समाजले के भन्लान भन्ने डर भई अस्पताल नआउने ।
(ग) विभिन्न अन्धविश्वासका कारण डाक्टरलाई नदेखाएर धामीझाँक्रीकोमा लग्ने ।
(घ) मानसिक डाक्टर कम हुनुका कारण शहरतिर मात्र बेसी सेवा उपलब्ध हुने जसका कारण ग्रामीण क्षेत्रका मान्छेलाई सेवा उपलब्ध नहुने ।
(ङ) लामो समयसम्म उपचार चाहिने हुँदा कतिपय बिरामी नियमित अस्पताल आउन लापरवाही गर्ने, अनि औषधी प्रयोग आफै बन्द गर्ने ।
० मानसिक रोगबाट जोगिने उपायहरु के छन् ?
मनसिक रोगबाट जोगिने यी उपायहरु अप्नाएमा रोग लाग्ने सम्भावना कम हुन सक्छन् ः
— खनपिनमा ध्यान दिने, स्वस्थ जीवनशैली अप्नाउने ।
— शारीरिक रुपमा सक्रियता कायम गर्ने, दिनहुँ व्यायाम गर्ने, स्वच्छ वातावरणमा हिँडडुल गर्ते, स्वस्थ खानपिन, हावा भएको ठाउँमा बस्ने ।
— रक्सी, चुरोट तथा अन्य अम्बल प्रयोग नगर्ने ।
— सामाजिक सञ्जालमा धेरै समय नबिताउने
— आफू नजिकको मान्छेसँग समय बिताउने
— प्रिवार, साथीभाइसँग तनावका बेला, मनमा कुरा खोलेर आफ्नो मनका कुरा भन्ने ।
— तनावपूर्ण स्थितिबाट टाढा रहने ।
० मानसिक रोगीको लागि कस्ता उपचार विधिहरु अप्नाइन्छ ?
मनसिक रोगीको लागि अप्नाउन सकिने उपचार विधिहरु यसप्रकार छन् ः
— मनोशिक्षा तथा आश्वासन
— साइकोट्रोपिक्स औषधीहरु
— मनोबैज्ञानिक थेरापीहरु ः संज्ञानात्मक, वैवहारिक थेरापी
यी उपचार पद्धति रोग अनुसार फरक हुन जान्छन् ।
० मानसिक रोग वंशाणुगत पनि हुन्छ ?
मनसिक रोग पुख्र्यौली पनि हुन सक्छन् । रोग हुने नहुने परिवारमा कसैलाई रोग छ छैन यसले फरक पर्न जान्छ । विभिन्न रोग जस्तैः बाइपोलार, डिप्रेसन, मनोत्रास, उन्माद रोग, दाजुभाई दिदी बहिनीमा, आफ्नो बुबा आमामा, हजुरबुबा हजुरआमा, आमा पट्टीको परिवारमा भएमा त्यही अनुसार रोग लाग्न पनि सक्छ नलाग्न पनि सक्ने सम्भावना हुन्छ ।
० मानसिक रोग लागेका व्यक्तिलाई ठिक भएपछि फेरि दोहोरिने सम्भावना कत्तिको हुन्छ ?
एकपटक रोग लागेमा फेरि दोहोहोरिन सक्ने सम्भावना हुन्छ । जस्तै
डिप्रेसन ः ५०—८५ प्रतिशतमा जीवनभरिमा फेरि दोहोरिन सक्ने सम्भावना छ ।
मनोत्रास ः २३.५ प्रतिशत देखि ३२.७ प्रतिशतमा जीवनभरिमा दोहोरिन सक्ने सम्भावना छ ।
उन्माद रोग ः १ वर्षमा २८ प्रतिशत देखि ३—५ वर्षमा ५४ प्रतिशत सम्म दोहोरिन सम्भावना रहन्छ ।
० यसका उपचार विधिहरु के के हुन् ?
उपचार विधिहरु रोग अनुसार फरक पर्न जान्छ ।
— सामान्य तथा हल्का लक्षण भएमा ः मनोशिक्षा तथा आश्वासन, काउनसिलिङ्ग गराउने ।
— मध्यम तथा कडा लक्षण भएमा साइकोट्रोपिक्स औषधीहरु प्रयोग गर्ने ।
— मनोवैज्ञानिक थेरापी पद्धतिहरु पनि गराउन सकिन्छ ।
० मानसिक रोग कति कडा रुप लिन सक्छ ?
मानसिक रोगी भएका विरामीले उपचार नपाएमा, डाक्टरले भने अनुसार नगरेमा रोगले कडा रुप लिन सक्छ, जसले गर्दा औषधीले काम नगर्ने, विभिन्न औषधीहरु एकैचोटी प्रयोग गर्नुपर्ने, विजुली पद्धतिसम्म अप्नाउनुपर्ने हुनसक्छ । कडा रुप लिँदा विरामी बेसुरले हिँड्ने, आफू र अरुलाई हानी नोक्सानी पुराउन सक्ने, जथाभावी बोल्ने, नराम्रो व्यवहार गर्ने हुनसक्छ ।
० कुन स्टेजमा पुगेपछि मानिसले आत्महत्यासम्म गर्न पुग्छन् ?
मनसिक रोग कडा भएमा जसमा लक्षण नियन्त्रणमा आएनन् भने विरामी आत्महत्यासम्म गर्न सक्छ । अथवा बेसुर हुँदा शंका विनाकारण उत्पन्न हुने भएकाले डरकै कारण ः जस्तै कसैले मार्न आए, मेरो बारेमा नराम्रो सोचे भन्दा गर्न सक्ने सम्भावना रहन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्