प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरू निजगढ विमानस्थलको निरीक्षणमा जादै

काठमाडौं, १८ असार  । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको शनिवार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् ।
काठमाडौँबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जान लागेको गठबन्धनका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जान लागेका हुन् ।
वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन् ।
‘भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने छ’, ती नेताले भने ।
सर्वोच्च अदालतले गत बुधवार विमानस्थलसम्बन्धि मुद्दाको फैसला गर्दै निमार्ण गर्ने जिम्मा सरकारको हातमा दिएको छ। जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।
यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनुपर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनसन बिहीवारबाट अन्त्य भएको छ ।
विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्णपाठलाई सकरात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनसन अन्त्य गर्ने निर्णय गरेको हो ।
विमानस्थल निर्माणको माग राखेर निजगढको शहीद चोकमा अनसन हुँदै आएको थियो। निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले जेष्ठ २४ गतेदेखि निजगढको शहिद चोकमा रिले अनसन सुरु गरेको थियो ।
निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको जेष्ठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिनदेखिनै राँके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्