भूतको डरले घरगोठमै बच्चा जन्माउदै काराङ गाउँका महिला

हुम्ला, १८ असार । हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् ।
५० घरधुरी र २३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने विश्वास राख्दै आएका छन् । त्यसैले नवजात शिशुुलाई काराङ खोला तराउने आँट यहाँका बासिन्दाले देखाउन सकेका छैनन् ।
सन्तान नजन्मिँदा देवीदेउतालाई भाकल गर्ने र बोका चढाउने यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैनन् । राया स्वास्थ्य चौकीका संयोजक वीरसिंह रावलले खोलाको बाटो भएर हिँड्नुपर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि स्वास्थ्य केन्द्र आउन नमानेकोे बताउन्छन् ।
उनले भने, “भूतप्रेतको डर नमान्न र निर्धक्क भएर गर्भवतीलाई स्वास्थ केन्द्रमा ल्याउन आग्रह गर्दा पनि कसैले मान्दैनन् । बच्चा जन्माउन स्वास्थ्य केन्द्रसम्म नआउँदा सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट पनि महिला वञ्चित हुने गरेका छन् ।” स्वास्थ्य केन्द्रमा बच्चा जन्माउँदा सुत्केरी भत्ता दिने व्यवस्था छ ।
स्वास्थ्य चौकीका प्रसूति सेवा हेर्ने स्वास्थ्यकर्मी कविता बुढाले गर्भ रहेको दुई, तीन महिनादेखि नै स्वास्थ्य चौकीमा नियमित परीक्षण गराउँदै आउने महिला बच्चा जन्माउने समयमा स्वास्थ्य चौकीमा नआउने गरेको बताइन् ।
स्वास्थकर्मी बुढाका अनुसार गर्भ जाँच गराउन आउने महिलालाई हरेक पटक सम्झाउने गरिएको छ । यति हुँदाहुँदै पनि न महिला आउन मान्छन् न त घरका पुरुषले नै पठाउन चाहन्छन् । गोरखापत्र दैनिकबाट


तपाइको प्रतिक्रिया दिनुहोस्