सतासी वर्षीया बृद्धलाई बेहोस बनाएर होस्मा ल्याएका डा. अनिलबाबुको अनुभव

ललितपुरको गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी निवासी डा. अनिलबाबु ओझा एनेस्थेसियोलोजिस्टको रुपमा सात वर्षदेखि सुमेरु अस्पतालमा कार्यरत रहनुभएको छ । सात वर्षको अनुभव बटुल्दै सामान्यदेखि लिएर जटिलखालका विरामीहरुलाई बेहोस बनाई अप्रेसनपछि सामान्य अवस्थामा ल्याउन सफल भएको लामो अनुभव रहेको डा. ओझा बताउनुहुन्छ । उहाँसँग खोजतलास साप्ताहिकले एनेस्थेसियाको बारेमा गरेको संक्षिप्त वार्तालाप ः

० एनेस्थेसिया के हो ?

शल्यक्रिया गर्नुभन्दा पहिला विरामीलाई अचेत र दुखाई कम गराउनका लागि बेहोस बनाउने कार्य र शल्यक्रियापछि पहिलेकै अवस्थामा ल्याउने प्रक्रियालाई एनेस्थेसिया भनिन्छ । 

० बिरामीलाई बेहोस बनाउदा प्रयोग गर्ने औषधीले पछि साइड इफेक्ट गर्छ कि गर्दैन ?

एनेस्थेसियामार्फत् बेहोस पार्ने विभिन्न तरिकाहरु हुन्छन्, विरामीको रोगको प्रकृति हेरेर कस्तो खाले एनेस्थेसिया दिने भनेर एनेस्थेसियालोजिस्टले निधारण गर्छ । कहिलेकाहिँ बेहोस पार्ने प्रकृया नमिल्दा विरामीको ज्यानै जानसक्ने सम्भावना पनि हुन्छ । तर विरामीलाई बेहोस् बनाउन प्रयोग गर्ने औषधीले बेहोस पछि होसमा ल्याउँदा र पछि बिरामीले खासै असर पर्दैन ।

० विरामीले शल्यक्रिया गर्नुभन्दा पहिलो एनेस्थेसियोलोजिस्टलाई भेट्नु आवश्यक छ ?

एकदमै आवश्यकता छ । विरामीको उमेर, विगतदेखि भएको रोग, अप्रेशनको प्रकार, अप्रेशनको समयावधी, अप्रेशनको जटिलता र विरामी तत्काल अवस्था हेरेर गरिन्छ । एनेस्थेसियोलोजिस्टसँग अप्रेशन गर्नुभन्दा पहिला भेटेर सल्लाह लिँदा बिरामीको अवस्था हेरेर विरामीको आत्मबल बढाउने कार्य हुन्छ । बिरामीको कुन भागको अप्रेशन गर्ने हो त्यो भागको विषयलाई लिएर एनेस्थेसियालोजिस्टले जानकारी गराउने मौका पनि मिल्छ ।

० बिरामीलाई बेहोस बनाएपछि एनेस्थेसियाको डाक्टरको काम सकियो त ?

बिरामीलाई अप्रेसनको लागि बेहोस बनाइसकेपछि पनि एनेस्थेसियोलोजिस्टको महत्वपूर्ण भूमिका रहन्छ । अप्रेसन हुँदै गर्दा बिरामीको मुटुको चाल, सासको गति, पिसावको मात्रा, अप्रेसन गर्दा बग्ने रगतको मात्रा, बिरामीलाई दिने सलाइनपानीलगायतमा पर्ने समस्याहरुको निगरानी गरिरहनुपर्ने हुन्छ, यी सबै कुराहरुको व्यवस्थापन एनेस्थेसियोलोजिस्टले गर्ने भएका कारण एनेस्थेसियोलोजिस्ट बिना कुनै पनि बिरामीको अप्रेसन सम्भावना नै छैन । विरामीको अप्रेसन पछि पूरा होस नआएसम्म एनेस्थेसियोलोजिस्टकै निगरामीमा विरामी रहन्छ । 

० अप्रेसनको कति समयपछि बिरामीको होस आउने गर्छ ?

साधारणतया अप्रेसन सकिने वित्तिकै विरामी होसमा आउने क्रममा हुन्छन् । कहिलेकाहिँ कुनै कुनै विरामी अलि ढिलो होसमा आउने पनि गर्छन् । ढिलो होसमा आए पनि डराई हाल्नुपर्ने अवस्था भने हुँदैन । विशेष गरी जटिल खालका शल्यक्रिया गरेका विरामीहरुलाई चाँडै नै होसमा ल्याउन पनि मिल्दैन । किनकी जटिल खालका शल्यक्रिया गरेका विरामीलाई चाँडै होसमा ल्याउँदा ज्यानै जानसक्ने सम्भावना भएका कारणले पनि छिटै होसमा ल्याउन मिल्दैन । 

० एनेस्थेसिया सुविधा नेपालका सबै अस्पतालहरुमा सहज छ ?

कुनै पनि अस्पतालमा अन्य सेवा सुविधा नभए पनि एनेस्थेसियोलोजिस्ट सुविधा अति आवश्यक छ । एनेस्थेसियोलोजिस्ट बिना अस्पताल संचालन गर्न पनि कठिन हुन्छ । तै पनि कतिपय अस्पतालहरुमा एनेस्थेसियोलोजिस्ट नहुँदा बिरामीको अकालमा ज्यान पनि गुमाइरहेको तथ्यांकहरु सार्वजनिक हुने गर्छ । एनेस्थेसियोलोजिस्टले शल्यक्रिया कक्षलगायत इमरजेन्सी, आईसीयु, भेन्टिलेटरमा रहेका विरामीहरुलाई पनि निगरानी राखिरहने भएका कारण अस्पतालमा एनेस्थेसियोलोजिस्ट अति आवश्यक छ । नेपालको परिवेशमा ठूला—ठूला अस्पतालहरुमा एनेस्थेसियोलोजिस्ट भए पनि केही अस्पताल र दुर्गम ठाउँमा रहेका अस्पतालमा भने एनेस्थेसियोलोजिस्टहरु छैनन् । जसका कारण विरामीले कुनै पनि बेला अकालमा मृत्युवरण गर्न सक्छन् । 

० सबै अस्पतालले एनेस्थेसियोलोजिस्ट राख्न नसक्नुको कारण के होला ?

नेपालमा बर्षेनी ३०—४० जना एनेस्थेसियोलोजिस्टको उत्पादन हुने गर्छ । धेरै जसो एनेस्थेसियोलोजिस्टहरु सुविधा सम्पन्न अस्पताल र सुगम ठाउँमा रहेको अस्पतालमा काम गर्न रुचाउँछन् । विशेषगरी एनेस्थेसियोलोजिस्टसँगै अरु विभागका विशेषज्ञहरु पनि उपलब्ध गराउन सकिने हो भने यो असम्भव छैन । तर यस्तो अवस्था भने दुर्गम जिल्लाहरुको अस्पतालमा सहज छैन । दुर्गम जिल्लाका अस्पतालहरुमा सुगम जिल्लाको जस्तै सेवा सुविधा र भौतिक संरचना हुने हो भने त्यो भने असम्भव छैन । 

० कति उमेर हदका विरामीहरुलाई बेहोस बनाई सल्यक्रिया गर्न सकिन्छ ?

बेहोस बनाउनका लागि उमेरले छेक्दैन । भर्खरी जन्मिएको शिशुदेखि लिएर बृद्ध—बद्धाहरुलाई पनि बेहोस बनाई शल्यक्रिया गर्न सकिन्छ । मैले हालै मात्र सुमेरु अस्पतालमा ८७ वर्षीय बृद्धलाई मृगौलाको अप्रेसन गर्नुपर्ने भएको हुँदा सर्जन डा. बिजय कटुवालको टिमसँग सहकार्य गरी बेहोस बनाई सल्यक्रिया सकिने वित्तिकै होसमा ल्याउन सफल बनिसकेको छु । त्यसैले विरामी स्वस्थ हुँदा बेहोस बनाई कुनै अंगको शल्यक्रिया गर्दा उमेरले खासै फरक पर्दैन । 


० बिरामीलाई बेहोस बनाई शल्यक्रिया गरिसकेपछि जोखिमपूर्ण अवस्थाहरु पनि आउने गरेको छ कि छैन ?

जोखिमपूर्ण अवस्थाहरु त धेरै नै आउने गर्छन् । तर, बिरामीलाई परेको समस्याको पहिचान तुरुन्तै हुने भएकाले त्यस्ता समस्याहरुलाई सहजरुपमा निवारण गर्ने गरिएको छ ।

० कस्ता बिरामीलाई बेहोस बनाउन सकिदैन ?

धेरै जसो सबै विरामीलाई बेहोस बनाउन सकिन्छ । तर, विरामीको अवस्था हेरेर कुन प्रकृतिको एनेस्थेसिया दिने हो त्यो हेरेर दिनुपर्ने हुन्छ । जस्तै छाती खराब भएका विरामीहरुको पेटको अप्रेसन गर्नुपर्दा पेटलाई मात्र बेहोस बनाएर गर्न सकिन्छ । बिरामीको अवस्था हेरेर जुन पार्टको अप्रेसन गर्ने हो त्यो पार्ट मात्र बेहोस बनाएर गर्न मिल्छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्