तस्करको लाइन मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको होडबाजी

बारा । जिल्लाका बिभिन्न नाकाहरुबाट तस्करहरुलाई लाइन दिने कार्यमा सशस्त्र र नेपाल प्रहरीबीच होडबाजी चलेको छ ।  तस्करी र आर्थिक अपराध नियन्त्रण गर्न जिम्मा पाएको  नेपाल प्रहरीकै उच्च सुरक्षा अधिकारीहरुले आर्थिक लाभ लिनका लागि तस्करलाई लाइन दिएको सार्वजनिक हुँदै आएको छ । बाराका  नाकाहरुबाट  तस्करहरुले सामान ओसारपसार गरिरहेको स्थानीयको भनाइ छ। वाराको सिम्रौनगढ, कचोर्वा, डुगरीदेवीमाई, पिपरपाती, खजानी, झवानी, अमरपुर, सनुवाही, कवलपुर, अमरपुर, कवही, फुलवरिया, वेल्दारी, बलपुर, निलकण्ठवा र मुसहर्वा नाका भएर खुलेआम तस्करी भइरहेको स्थानीयको भनाइ छ ।  बाराको सिम्रौनगढ नाकाबाट दिन र रात तस्करी भइरहेको स्थानीय बताउँछन्। सिम्रौनगढ नजिक रहेको गोलागंज नाकाको ढाठ नै राति हटाइने गरेको र तस्कारीको सामान लोड गरेका सबारी साधनहरु रातभर आवतजावत गर्ने गरेको स्थानीयको भनाइ छ। सर्वसाधारणलाई साइकल मोटरसाइकलमा दैनिक उपभोग्य वस्तु ल्याउन लैजान नदिने सीमानाका प्रहरीहरुले भने राति ढाठ नै हटाउने गरेकामा स्थानीय आक्रोशित छन्।छोटी नाकाहरुबाट दैनिक भन्सार छली गरेको करोडौं मूल्य बराबरका खाद्यान्न, कस्मेटिक, मेसिनरी, राँगा, भैसी निर्धक्क रुपमा भित्र्याउने क्रम बढदै गएको छ  । बलिरामपुर मुसहर्वा नाकाबाट छोटेलाल पटेल, मुरारी महतो, भोला मियाँ, खेना यादव समूहले कपडा भित्र्याउने गरेका छन् । पटेलको समूहले नै कलैयामा खपत हुने कपडाको ५० प्रतिशत भन्दा बढी भन्सार नै नतिरी तस्करी गरेर ल्याउने गरेको कलैयाका कपडा व्यपारीहरुले बताएका छन् । मुसहर्वा नाकाबाट नै सन्तोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादव लगायतका कारोबारीले राती राति राँगा र भैसीहरु नेपालमा भित्र्याउने गरेका छन् । नाकाहरुबाट तस्करीको लाइन पाएका तस्कर समूहले एसपी, सीडीओ र डिआइजीहरुलाई समेत महिनावारी दिएर काम गरेको धाक लगाउँदै हिंडेका छन् । बाराका प्रमुख जिल्ला अधिकारीले बाराका बिभिन्न नाकाहरुबाट तस्करी गराएको र त्यस कार्यमा सुरक्षाकर्मीहरु संलग्न रहेको भनी कारबाही गर्न गृह मन्त्रालयबाट पत्र आएको र कारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको बताएका छन् ।



तपाइको प्रतिक्रिया दिनुहोस्