बारम्बार रौ उखाल्ने मानसिक रोग

रमा श्रेष्ठ (नाम परिवर्तन) दश वर्षकी भइन् । उनी बारम्बार आफ्नो कपाल तान्ने र कहिलेकाही खाने समेत गर्दछिन् । कपाल तान्दा–तान्दा उनको टाउको पछाडिको आधा जस्तो तालु खइुलिसकेको सकेको छ । उनीलाई आफुले कपाल तानिरहेको छु भन्ने होस नै हुदैन । उनीलाई  आफ्नो कपाल माया लाग्ने, नतान्न पाए हुन्थ्यो, अरुको जस्तै आफ्नो कपाल पनि लामो भईदिए हुन्थ्यो भन्ने लाग्छ । उनी आफ्नो कपालको हेरचाह पनि गर्ने गर्दछिन् । दैनिक तेल लगाउछिन् । आफुले यस्तो किन गर्छु उनी आफैलाई थाहा छैन । बुबाआमाले उनको यो बानी हटाउन भनेर हात बाधिदिने लगाएतका धेरै प्रयास गरे तर सफलता हात लागेन । उनी आफ्नो कपाल देखेर निरास हुन्छिन । अरुले जिस्काउदा नरमाइलो लाग्छ । लाज लागेर आउछ । हिनताबोध हुने गर्छ । आफ्नो खुइलिएको टाउको नदेखियोस भनेर सलले टाउको छोप्ने, टोपी लगाएर हिड्ने गर्दछिन् । यसका अलवा उनमा मनमा कुरा खेल्ने, डर— चिन्ता लाग्ने, डरलाग्दो सपना देख्ने, नङ टोक्ने, आकुल ब्याकुल तथा छटपटि हुने जस्ता समस्या पनि देखिएका छन् ।
उनलाई भएको जस्तो यो समस्यालाई ट्राइकोटिलोमेनिया भनिन्छ । यो एक प्रकारको मानसिक रोग हो । यो रोग लागेको व्यक्तिले आफ्नो शरिरको रौं बारम्बार तान्ने गर्दछ । यो एक प्रकारको आबेगजन्य रोग हो ।  यो रोग लाग्दा उनीहरु यसो गर्नबाट आफ्नो आवेगलाई रोग्न सक्दैन । आफ्नो रौ तान्न नपाउँदा उनीहरुमा एक प्रकारको तनाव,अशान्ति र  छटपटी हुने गर्दछ । रौ तानि सकेपछि आनन्द,  सन्तुष्टि र तनावबाट छुटकारा पाएको  महसुस हुने गर्दछ । यो रोग लाग्दा आवेगका साथ कपाल तान्ने र कसैकसैले त खाने, चपाउने, रौंसँग खेल्ने समेत गर्दछन् । उनीहरुमा देखिने गरी नै कपाल वा रौ को क्षति भएको हुन्छ । यो रोग लागेका कतिलाई  रौ तानिरहदा आफुले के गरिरहेको छु भन्ने थाहा नै हुदैन । टि.भी. हेर्दा, पढ्दा, कुरा गर्दा वा अन्य जुनसुकै अवस्थामा अनायसै रौ तानिरहेका हुन्छन । कतिले भने नियोजित तवरबाट आफ्नो तनाव, चिन्ता, नैरास्यता, एक्लोपनलाई कम गर्न, आफुलाई शान्त गर्न यसो गरिरहेका हुन्छन् । रौ तान्दा उनीहरुले खासै दुखाईको महसुस गर्दैनन् । उनीहरुले अलि अलि गरेर रौ वा कपाल तानी रहेका हुन्छन्  । उनीहरु आफ्नो यस्तो कार्य घरपरिवार वा अरुलाई देखाउन चाहदैनन् । सकेसम्म लुकाउने प्रयास गर्दछन् । यो रोग लागेकाहरुले आफुमात्र होइन अरुको कपाल तान्दा पनि खुसी महसुर गर्दछन् । यो रोग लागेका कसै कसैले खेलौना, पाल्तु जनावर, कपडा, ओढ्नेबाट पनि रौ तान्ने गर्दछन् । कहिलेकाही समाचारमा पेटबाट ठुलो मात्रामा कपालको गुच्छा अपरेशन गरेर निकालेको सुनिन्छ । यो प्राय यस्तै रोगबाट प्रभाभित व्यक्तिहरुको हुने गर्दछ ।  
जनसंख्याको १ देखि २ प्रतिशतमा यो रोग हुने गरेको अनुसन्धानबाट देखिन्छ । नौ वर्षदेखि तेह्र वर्षको उमेरमा प्रायः जसो यो रोग देखा पर्दछ । तर, यस भन्दा अगाडि वा पछाडि जीवनको कुनै पनि समयमा यो रोग देखिन सक्छ । पुरुषभन्दा महिलामा सात गुणा बढी देखिने यो रोग बाल बालिकामा भने बराबर जसो देखिन्छ ।
यो रोग लागेका व्यक्तिले टाउको कपाल, आँखाको परेला, अाँखीभौको रौ, दाह्री, हातको रौ, खुट्टाको रौ, जुङ्गा, नाकको पोराको रौ, जननेन्द्रियको रौ, छातीको रौ, हातले नै  वा अन्य वस्तुको प्रयोग गरेर उखाल्ने गर्दछन् । जुन अन्य शारिरिक रोग लागेर आफै झरेको नभई उखालेको स्पष्ट देखिने गर्दछ् ।
कारण ः यो रोग लाग्नुको पछाडि यहि कारण हो भनेर स्पष्ट भन्न सकिदैन । मतिष्कको रासायनिक तत्वको गडबडी, दुव्र्यवहार, पारिवारिक दन्द्व, आफन्तको मृत्यु जस्ता तनावजन्य अवस्था, आमा र बच्चाबीचको राम्रो सम्बन्ध नहुनु आदि जस्ता कारणले यो रोग लाग्न सक्छ । रौ तान्ने यो रोग दिर्घ मानसिक रोग हो । उपचार नहुदा रोगका लक्षणहरु जटिल हुदै जान्छन् । बेलैमा यसको उपचार नहुँदा यसबाट प्रभावित व्यक्तिमा डिपे्रसन, एन्जाइटी, व्यत्तित्व सम्बन्धि गडवडी, लागुपदार्थको लत जस्ता अन्य मानसिक रोग लाग्ने सम्भावना हुन्छ । यो रोगको कारण व्यक्तिगत तथा सामाजिक जीवन र कार्य एवम् व्यवसायमा समस्या आउछ । यस्ता व्यक्तिहरु सामाजिक क्रियाकलाप, भेटघाट आदिबाट पन्छिन् खोज्ने, अवसरलाई गुमाउने, अरुले आफ्नो कपालको अवस्था थाहा पाउछ भनेर नजिक नहुने, कृतिम कपाल, परेला लगाउने, कपाललाई स्टाइल बनाउने आदि समेत गर्दछन् ।
उपचारः कसैले आफ्नो खराब वानी व्यहोराको कारणले कपाल वा रौ उखाल्ने गरेको होइन । यो रोग हो भन्ने कुरा सवैभन्दा पहिले बुझ्नु आवश्यक छ । सजाय दिएर, गाली गरेर, जिस्काएर, यो रोग हट्ने होइन ।  झन् बढन् सक्छ । घर परिवारका सदस्य, साथीभाईले यो रोग लागेको व्यक्तिलाई यसो नगर भनेर सल्लाह दिने, जिस्काउने, गाली गर्ने गर्नु हुदैन । यो रोग लागेका व्यक्तिले चाहेर पनि यो व्यवहारलाई रोक्न् सक्दैन् । यस्तो कुरा गर्दा उनीहरुले आफुलाई कमजोर भएको, यसलाई रोक्न नसकेकोमा आपैmलाई दोषी ठान्ने, आरोप लगाउने, आफैसँग रिसाउने, हिनताबोध गर्ने गर्दछन् । यसले उनीहरुमा थप मानसिक तनाव बढ्छ ।
यो रोगको उपचारको लागि सवैभन्दा राम्रो विधि भनेको विभिन्ने खालका मनोवैज्ञानिक प्रशिक्षण, साइको थेरापी हो । तर, यो रोगको कारण डिप्रेशन, चिन्ताको समस्या लगायतका अन्य मानसिक रोग पनि देखा परेको छ भने मनोचिकित्सकको  सल्लाह अनुसार औषधीको सेवन पनि गर्नु पर्ने हुन्छ ।
गोपाल ढकाल
मनोविद (मार्क नेपाल मनोसेवा केन्द्र)


तपाइको प्रतिक्रिया दिनुहोस्