ओझेलमा मानसिक स्वास्थ्य

गोपाल ढकाल
विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका चारमध्ये एक जना व्यक्ति आफ्नो जीवनको कुनै न कुनै समयमा मानसिक रोगबाट प्रभावित हुने गरेका छन् ।
विश्वमा करिव ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० – ७० लाखको हाराहारीमा  नेपालीहरू कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक समस्याबाट  प्रभावित भएको छन भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग भएको अनुमान गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ ।
सर्वेक्षणमा १६ वर्षका उमेर समूहका (७.७) प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको देखाएको छ ।
अहिले कोरोना भाइरसको प्रकोप तथा लामो समय सम्मको निशेधाज्ञाले मानसिक स्वास्थ्य समस्या बढ्दो गतिमा छ । लामो लकडाउन र कोरोनाको त्रासका कारण मानसिक समस्यालाई बढाएको देखिन्छ ।
कोभिड – १९  सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेर गएकोछ । आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ । कतिपय मानिसहरु अत्यधिक मदिरापान, लागु औषध सेवन, अनिद्रा तथा छटपटीजस्ता समस्याले प्रभावित भएका छन् ।
कोभिड–१९ ले विश्वका ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठनको गत बर्षको एक सर्वेक्षणले देखाएको छ । विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएकोछ ।
उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसैगरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरापी सेवा नपाएको देखिएकोछ ।
नेपालमा मानसिक स्वास्थ्यको अवस्था
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ ।
हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ। मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल बिग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजरअन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि विद्यमान रहेको छ ।
बदलिँदो समाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागु–पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङिगक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरताजस्ता कारकतत्त्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।
शिक्षा र चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको अभाव, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनुजस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन । सन् १९९७ मा बनेको भनिएको मानसिक स्वास्थ्य नीति अझै पनि कार्यान्वयनमा आएको छैन ।
नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठनपाठन हुन सकिरहेको छैन। यथापि हालै मात्र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यका तर्फबाट पनि पर्याप्त लगानी हुन सकिरहेको छैन ।
नेपालको संविधान २०७२ ले स्वास्थ्यको अधिकारलाई मौलिक हक–अधिकारको रूपमा समावेश गरेको छ तर पनि राज्यका तीनवटै निकाय (संघ, प्रदेश र स्थानीय तह) सम्म आधारभूत स्वास्थ्य सेवाको एक महत्वपूर्ण हिस्सा रहेको मानसिक स्वास्थ्यको क्षेत्रमा मानसिक स्वास्थ्य सेवा निःशुल्क र सहज रूपले सर्वसुलभ हुन सकिरहेको छैन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्सजस्ता जनशक्ति अत्यन्तै न्यून छन् ।
नेपालमा ७७ जिल्ला मध्ये केही  जिल्लाबाट मात्र सरकारले मानसिक स्वास्थ्य सेवा दिएकोछ । भएका मानसिक रोग विशेषज्ञ काठमाडौंमै छन् । मोफलसमा चिकित्सककै अभाव छ ।
नेपालजस्तो विकासोन्मुख देशमा त ५ जना मानसिक रोगीमध्ये ४ जनाले उपचार नै नपाउने अवस्था रहेको देखिन्छ ।
निम्न आय भएका हाम्रोजस्तो देशमा करिब ८० प्रतिशत भन्दा बढि  जनता मानसिक रोगको उपचारबाट विहीन भएकाछन् ।
मानसिक स्वास्थ्यको सम्बर्द्धनका उपाय
– शारीरिक रोगझैँ मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रुपमा लिनुपर्छ । मानसिक रोग निको हुने रोग हो । औषधीको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ । धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाँक्री  लगाएर, मानसिक रोग निको हुँदैन । बेलैमा यसका विज्ञलाई देखाउनुपर्छ ।
– मानसिक रोग , आत्माहत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।
– मानसिक स्वास्थ्यको बजेट नगन्य अवस्थामा छ, यसलाई वृद्धि गर्नु जरुरी छ । नेपालमा मानसिक स्वास्थ्य भार १४ प्रतिशत रहे पनि मानसिक स्वास्थ्यमा स्वास्थ्यको कुल  बजेटको एक प्रतिशतभन्दा कम छ ।  मानसिक समस्याहरूको उपचारका लागि १ डलर मात्र लगानी गरेमा मात्र पनि त्यसको प्रतिफल स्वास्थ्य क्षेत्रमा मात्र ३ डलर  बराबर अनि सर्वाङ्गीण अर्थतन्त्र र उत्पादनशीलतामा ५ डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएकोछ ।
– मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई वृद्धि गर्नुपर्छ । अहिले सम्म नेपालमा दुई सयको हाराहारीमा मनोचिकित्सकहरु रहेका छन । तीन करोड नेपालीमा पन्द्र लाख बराबर एक जना मनोचिकित्सक पर्न आउँछ ।
मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुराउनु पर्छ ।
– प्रकृतिक विपत्ति आइपर्दा , रोगव्याधि फैलिँदा, दुर्व्यवहार, अन्याय, विभेद र लान्छनाजस्ता जीवनमा कठिन अवस्थामा मानसिक समस्या पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित व्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा–सहयोगको व्यवस्था राज्यले तत्काल गर्नुपर्छ ।
– विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठनपाठन तत्काल सुरु गर्नुपर्छ । विद्यालयहरु बालमैत्री बनाउनुपर्छ । विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
– वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि बिदेश जानू भन्दा अगाडि मानसिक स्वास्थ्य परिक्षा, मानसिक स्वास्थ्यका बारेमा तालिम, तनाव व्यवस्थापन सम्बन्धी सीप सिकाउन अत्यन्तै जरुरी हुन्छ ।
– आफ्नो मानसिक स्वास्थ्य अवस्थाप्रति व्यक्ति स्वयं पनि सचेत र चनाखो हुनुपर्छ । आत्माहत्या र मानसिक रोगको बारेमा खुलेर कुरा गर्नुपर्छ  । मानसिक स्वास्थ्यलाई सबल बनाउन आफ्नो दैनिक रहनसहन, खानपान, जीवनशैलीमा सुधार ल्याउनुपर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको आवश्यक सहयोग लिन ढिला गर्नु हुँदैन ।
– मानसिक स्वास्थ्यको सम्बद्र्धन र प्रवद्र्धनका लागि सबै निकायबीच सहकार्य हुनु जरुरी देखिन्छ । सबै सरोकारवाला व्यक्ति, निकाय संघ–संस्थाहरुबीच ऐक्यबद्धताको जरुरत छ ।
– मानसिक स्वास्थ्यको सम्बर्धन र प्रवर्धन तथा आत्महत्याको रोकथाममा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ । यसमा सञ्चार माध्यमहरुले संवेदनशील भएर सकारात्मक भुमिका खेल्नुपर्छ ।
(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत हुन् )


तपाइको प्रतिक्रिया दिनुहोस्