पाटन प्याथ ल्याबलाई नम्बरवान बनाउने छु ः बिन्दा

ललितपुर । ललितपुर लगनखेल महालक्ष्मीमार्ग जीएम कम्प्लेक्सस्थित पाटन प्याथ ल्याबको कमाण्ड बिन्दा शाहीले लिएकी छन् । ३१ वर्षीया युवा उद्यमी विन्दाले पाटन ल्याबको नेतृत्व लिएसँगै ल्याबलाई नयाँ किसिमले गुणस्तरीय सेवासहित ब्राण्डिङ गर्न सुरु गरिसकेकी छन् ।


‘मैले पाटन प्याथ ल्याबको स्वामित्व लिए,’ उनले भनिन्, ‘अब ल्याबको गुणस्तर र सेवा विस्तारमा विशेष ध्यान दिएर लैजाने योजना बनाएकी छु ।’ ल्याबको स्वामित्व लिएसँगै व्यवस्थापनतर्फको सम्पूर्ण कमाण्ड पनि विन्दाको हातमा आएको छ । ‘यो नयाँ जिम्मेवारी हो । मैले यसलाई अवसर र चुनौती दुवै रुपमा लिएकी छु,’ । उनले थपिन्, ‘तर, चुनौतीसँग जुध्नु मेरो स्वभाव हो । मलाई मजा पनि लाग्छ ।’ गार्मेन्ट, सहकारी र घरजग्गालगायतका व्यवसायमा समेत संलग्न विन्दा ललितपुरको चापागाउँमा जन्मिएकी हुन् ।


वुद्धिबहादुर शाही र सावित्री खड्काका दुई जना छोरीहरुमध्ये विन्दा कान्छी हुन् । बिन्दाले बज्रबाराहीको स्थानीय स्कुलबाटै प्रारम्भिक शिक्षा लिएकी हुन् । कक्षा ४ सम्म पढेपछि उनले थप शिक्षा अगाडि बढाउन सकिनन् । पढाइ छोडेपछि उनी भक्तपुरमा आफ्नो फुपुको पसलमा सघाउन थालिन् । त्यसपछि ह्याण्डी क्राप्टमा कम्पनीमा कामदारका रुपमा गर्न थालिन् । उनले काम सिकिन् र त्यहाँ काम गरिन । त्यहाँ काम गर्दागर्दै उनले १ लाख रुपैयाँ कमाएर आफ्नै व्यापार सुरु गरिन् ।
वि.सं. २०६४ सालमा १ लाखबाट सुरु गरेको ह्याण्डी क्राप्टको व्यापार २०७२ सालमा महाभूकम्प अघिसम्म राम्रो लयमा चलिरहेको थियो । झण्डै एक करोड हाराहारीको कम्पनी बनेको थियो, सयौं कामदारहरुको रोजीरोटी चलेको थियो । ‘चीन, अष्ट्रेलियालगायतका देशहरुमा हाम्रो सामान जान्थ्यो,’ उनले भनिन् । त्यही क्रममा उनको प्रगेन देसारसँग विवाह भयो । महाभूकम्पसँगै उनको कम्पनी डुब्यो ।
झण्डै ५०—६० लाख रुपैयाँ क्षति भयो । त्यही भुँइचालोमा परेर उनको कम्पनीमा काम गर्ने ६ जना कामदारको मृत्यु भयो । त्यसपछि ब्यापार भताभुंग भयो । त्यसपछि उनले त्यो व्यापार बन्द गरेर जग्गा कारोबार गर्न थालिन् । जग्गा कारोबारकै क्रममा लगनखेलमा पाटन प्याथ ल्याबका सञ्चालकसँग उनको भेट भयो । त्यही भेटघाटका क्रममा उनले २ वर्षअघि पाटन प्याथ ल्याबमा लगानी सुरु गरिन् । र, हालैमात्र उनले पाटन प्याथ ल्याबको पूर्ण स्वामित्व लिएकी छन् । अहिले ल्याबमा एक दर्जन बढी कर्मचारी काम गर्छन् । ३१ वर्षकै उमेरमा ल्याबको व्यवस्थापकीय कमाण्ड गर्न लागेकी विन्दालाई अहिले उनका श्रीमान र नजिकका आफन्तहरुले ल्याब सञ्चालनमा सहयोग गरिरहेका छन् । उनी पाटन ल्याबलाई त्यो क्षेत्रलाई नम्बर वान ल्याब बनाउने योजनामा छिन् ।




तपाइको प्रतिक्रिया दिनुहोस्