कृषिप्रधान देशमा मल, सरकारको अलमलले किसानलाई सँधै छल

2.2k Shares

काठमाडौं । किसानले चाहिएका बेला मल नपाउने रोगको निदानमा अब कुनै बहाना हुनु हुँदैन । कहिले सरकारले बेलामा प्रक्रिया नथाल्ने, कहिले बजेट नपुग्ने त कहिले ठेकेदारले बेलामा मल नलाउने जस्ता हैरानीको एकमुष्ठ समाधान नखोजी अब धर छैन । ग्लोबल टेन्डर गरेर छानिएका ठेकेदारले पनि मल आयात नगरिदिने बरु उल्टै कारबाही भोग्नेसम्मका समस्या नयाँ होइनन् । पटकपटकका कमजोरी र गल्तीबाट पाठ सिकेर नयाँ निकास नखोज्ने हो भने यो समस्याको हल असम्भव छ ।

कृषि प्रधान देशका किसान मल, बीउ र सिँचाइ अभावमा प्रताडित भइरहनु राष्ट्रिय लज्जाको विषय हो । यसमा कृषि सामग्री कम्पनी वा राष्ट्रिय केमिकल फर्टिलाइजर संस्था या कृषि मन्त्रालयको मात्रै दायित्वको खोजी गरेर पुग्दैन। सरकारले नीति, नियम र कानुनमै परिवर्तन गर्नुपर्ने वा नयाँ निर्माण गर्नुपर्ने के हुन सक्छ, त्यसो गर्नुपर्छ ।

वर्षैपिच्छे मलको गर्जो टार्ने प्रवृत्तिले मलको अभाव पूर्ति हुँदैन। दीर्घकालीन रूपमा यसको हल पत्ता लगाउनुपर्छ । सरकार—सरकारबीच सम्झौता गरी मल आयात गर्ने प्रयासले पनि प्रतिफल दिएको देखिएन। ग्लोबल टेन्डर गरेर अन्तर्राष्ट्रिय स्तरका ठेकेदारबाट मल आयात गर्न खोज्दा पनि धोका भएको छ । फ्रेमवर्क कन्ट्र्याक्टको अर्को बाटोको उपाय पनि विज्ञले सुझाएका छन्, जसलाई मनन् गर्न जरुरी छ। मलका तमाम समस्याको हल एकमुष्ठ खोज्नुपर्छ । 

मल कारखाना स्वदेशमै स्थापना गर्नु सबैभन्दा श्रेयष्कर हुन्छ । कृषि विज्ञहरूले समेत यही जुक्ति सुझाएका छन् । सरकारले बजेटपिच्छेजसो रासायनिक मल कारखाना खोल्ने घोषणा गर्न बिर्संदैन तर खोल्न चाहिँ सधैं बिर्सन्छ । मल कारखानाको सम्भाव्यताका बारेमा सुझाव लिन भारतीय कम्पनीहरूले प्रयास गर्दा उनीहरूले तर्साइदिएका पनि थिए । भारत आफैं अन्तबाट ल्याएर नेपाललाई बेच्न पाइरहेको छ, त्यहाँका एजेन्सी किन नेपालमा मल कारखाना खोल्न सम्भव छ भन्थे त रु

जलविद्युत्को पर्याप्तता अत्यधिक भइसकेको नेपालमा अब रासायनिक मल कारखानाका लागि ऊर्जा स्रोतको अभाव हुने पक्कै छैन । स्वदेशी ऊर्जा प्रयोगबाट चल्ने उद्योगको लागत पनि पक्कै कम हुन सक्छ । तसर्थ सरकारले मल अभावको दीर्घकालीन समाधानका लागि पहल गरोस् । कारखाना नै खोलेर स्वदेशी मल नै किसानलाई देओस्। मलमा किसानलाई कहिल्यै छल नहोस् । नेपालमै उत्पादन गरेर रासायनिक मल भारत निर्यात गर्न सके झन् उत्तम।  आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

सम्बन्धित समाचार