श्रम गर्न बाध्य बालिकाहरु

दाङ/तुलसीपुर उपमहानगरपालिका–६ की  रेखा चौधरी १३ वर्षमा पुगिन् ।  अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुकालाई कसरी पढाउने र  पालनपोषण गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । घरखर्च चलाउन र उनलाई पढाउन बिहान–बेलुका अरूको घरमा भाँडा माझ्ने र दिउँसो स्कुलमा पढ्न जाने गरेको उनी बताउँछिन् । “बाबुको घर दङ्गीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु  तर कहाँ छन् के गर्छन्  भन्ने थाहा छैन । आमाले भने आफूहरु सानै छँदा दोस्रो विवाह गरेर जानुभयो” उनले भनिन् ।

उनले भनिन्, “हामी सानै हुँदा बुबाले आमालाई सधैँ गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै  हेला गर्ने गरेकाले  यातना सहन नसकेर उहाँले  सम्बन्धविच्छेद गरी दोस्रो बिहे गर्नुभयो ।” आमाले दोस्रो बिहे गरे पनि केही समयसम्म आफूसँगै राख्नुभयो तर कान्छो बुबाका आमाबाले  अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा ९गीता चौधरी०लाई  गाली गर्न लागेपछि आफूहरु  त्यहाँबाट निक्लेर  आएको उनी बताउँछिन् । 

केही दिनसम्म सडकका गल्लीमा रातदिन बितायौँ अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयाँै । त्यही घरको अन्टीले खान र बस्न दिनुभएको थियो”, रेखाले दुखेसो पोखिन् ,  “आमाले  त्यहाँ भएको  जानकारी पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा, कहिले खानेकुरा ल्याईदिनुहुन्थ्यो”, 

“दुई हप्तासम्म त्यही घरमा  बस्यौँ,  घरबेटी अन्टीले तिमीहरु पढ्न जानुपर्छ, तिम्रो आफन्त कहाँ छन् भनी सोधीखोजी गरी मामाघरको हजुरआमालाई  भेटाईदिनुभयो । बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो”, उनले भनिन्, “हजुरआम देशनी चौधरीले र मैले  अहिले मजदुरी गरेर  पैसा कमाउँछौँ, त्यसैबाट  दाल, चामल, नुन तेल किनेर खान्छौँ । हजुरआमा ७३ वर्षकी हुनुहुन्छ उहाँले दिनभरि  अरूको घरमा मजदुरी गर्नुहुन्छ   म भने बिहानबेलुका अरूको घरमा भाँडा माझ्ने दिउँसो  स्कुल जाने गरेकी छु।”

रेखा तुलसीपुरस्थित  एक सरकारी स्कुलमा कक्षा ६ मा पढ्छिन् भने बहिनी  रेणुका पनि सोही विद्यालयमा कक्षा ५ मा अध्ययन गरिरहेकी छन् ।उनकी हजुरआमा देशनीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बस्दै आउनुभएको छ । “राससका समाचारदाताको सोधाइमा उहाँले भन्नुहुन्छ “मैले छोरीलाई  सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढ्न पनि पाइँन, श्रीमान् र  घरपरिवारले  त गरिबकी छोरी भन्दै दिनहुँ  हेला गर्ने, खान नदिने र कुटपिट गर्ने गर्न थालेपछि छोरी त्यो सहन नसकेर माइतीमा आएर बसी । अनि सम्बन्ध विच्छेद गरेर  दोस्रो बिहे गरी ।” 

“ अहिले मलाई  दुईवटी नातिलाई कसरी पढाऔँ र के खुवाऔँ भन्ने समस्या छ । त्यस्तै दुवै नातिनीको जन्मदर्ता नहुँदा समस्या भएको छ ।स्कुलका सर, मेडमले   जन्मदर्ता नभएपछि  नाम  लेखाइ दिन्नौँ  भन्नुहुन्छ  भन्दै नातिनीहरु घर आएर भन्छन् त्यसले झन् समस्या भएको छ”, उहाँको गुनासो छ । 

त्यसैगरी  रोल्पा जिल्लाकी १४ वर्षीया  कमला विक  पनि  तुलसीपुर बजारमा रहेको एक नास्ता पसलमा काम गर्दै आएकी छन् ।   सानै छँदा  बुबाको निधन भयो । घर खर्च चलाउन पैसा छैन् । त्यसैले  आमालाई थाहा नै नदिएर आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा अध्ययनरत कमला पढ्दापढ्दै घर छोडेर आएको बताउँछिन् । उनी भन्छिन्, “घरमा आमा र दुई बहिनी र  एक भाइ छन् । 

अहिले रेखा र  कमला मात्र होइन यहाँका धेरै बालबालिकालाई  अभिभावकहरुको लापरबाही, चेतनाको अभाव, गरिबीका कारण  पढ्ने लेख्ने समयमा अर्काको घरमा काम गर्नुपर्ने बाध्यता छ ।  

तुलसीपुर उपमहानरपालिका–६ लाई साढे चार वर्षपहिले बालश्रम मुक्त वडा  घोषणा गरिएको थियो तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरूका घर, पसल तथा यातायातका साधनमा श्रम गर्न बाध्य हुँदै आएका छन् । वडासदस्य यमुना परियार भन्नुहुन्छ, “हामीले चार वर्षअघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रम मुक्त वडा घोषणा गरेका थियौँ । त्यतिबेला धेरै सुधार भएको थियो । पछिल्लो समयमा विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिकाहरु श्रम गर्न बाध्य भएका हुन् ।”

केही बालबालिका  आर्थिक अभाव तथा अभिभावक विहिन हुँदा काम गरी खान बाध्य भएका छन् । केही भने पढ्दापढ्दै साथीको लहलहैमा भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्छन् । त्यस्ता बालबालिकालाई  भेटेमा  सम्बन्धित अभिभावक तथा स्थानीय निकायलाई जानकारी गराउन  उहाँ आग्रह गर्नुहुन्छ । वडासदस्य परियार भन्नुहुन्छ, “बालबालिकालाई काममा राख्ने गरेका होटेल, ग्यारेज, पसलहरुमा निगरानी बढाउनुपर्ने, त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेहरुलाई कानुनबमोजिम हुने कारबाही बारेमा जानकारी गराउने र अटेर गरे कारबाही पनि गर्नुपर्छ ।  –नारायणी रजौरे/रासस


तपाइको प्रतिक्रिया दिनुहोस्