माघे सङ्क्रान्ति र यसकाे महत्त्व

काठमाडाैँ/नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ । 

उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ । विविध जाति र समुदायको बाहुल्य रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ । 

आजभोलि माघे सङ्क्रान्ति देशविदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ । तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पु¥याउने खाद्य सामग्रीको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

थारुको माघी

माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायतको परिकार बनाएर जाँडका साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धमार भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै नजिकैको खोला नालामा नुहाउन जाने चलन छ । यसलाई माघ लहानु भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई खिचरहवा भनिन्छ ।

प्रकृतिसँग 

थारुको यो समयमा खेतीपातीको काम सिद्धिएको हुन्छ । यो समयमा प्रकृतिले पनि अथवा रुख बिरुवाले पात झार्ने र नयाँ पालुवा पलाउने गर्दछन् । रुख बिरुवामा पनि फूल फुल्न थाल्छन् । ऋतुको हिसाबले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकाले यो पर्वको महत्त्व छ । त्यसकारणले थारुले माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले बताउनुभयो ।

शासन व्यवस्था 

थारुले माघी पर्वलाई एउटा महान् पर्वका रूपमा लिने गर्छन् । सबै कुरा नयाँबाट सुरु गर्ने भएकाले पनि यसलाई नयाँ वर्षका रूपमा मनाइने संयोजक चौधरीले बताउनुभयो । पछिल्लो केही वर्षयतादेखि नेपालमा कमुईया, कमलहरि राख्ने प्रचलनमा बन्देज लगाइएसँगै यसको अन्त्य भएको छ । 

सम्बन्ध 

थारु वर्षभरि आफूले गरेका भूल गल्ती, पाप क्षमा मागी माघको १ गते भाले बस्नुभन्दा पहिले नदी वा खोलामा गएर नुहाएर पुरानो पाप, खराब आनीबानी, सोच विचारलाई नदीमा बगाएर स्वच्छ र पवित्र भई आपसमा मेलमिलाप गर्ने, एकआपसमा क्षमा दिने र आशिर्वाद आदानप्रदान गर्ने, बिग्रेको सम्बन्धलाई बलियो बनाउने गर्छन् । 

लोकप्रिय परिकार ढिक्री 

चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइने थारुको मौलिक परिकार हो, ढिक्री । जसलाई ढकिया ९सानो मुख भएको माटोको भाँडो० मा पकाइन्छ । माघीका बेला ढिक्री खाइने उहाँले बताउनुभयो । ठाउँ विशेषअनुसार ढिक्रीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ ।      

लाइलड्डु

नयाँ वर्ष, नयाँ जन्म जस्ता शुभ समयमा भुजियालाई गुँदमा मुछेर बनाइएको परिकारलाई थारुले लाइलड्डु भन्छन् । यसलाई मुरीको लड्डु पनि भनिन्छ । माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने भएकाले माघीको दिन पनि लाइलड्डु खाइने चौधरीले बताउनुभयो । सँगै कसार पनि खाइन्छ । भुटेको चामल पिँधेर बनाइएको लड्डुलाई कसार भनिन्छ । 

गङ्गटा

थारु समुदायमा प्रसिद्ध ‘सी फुड’ गङ्गटा पनि हो । गङ्गटालाई विभिन्न तरिकाले पकाउन सकिन्छ । छिपछिपे पानी, दलदले हिलो, खोलाको मुहान नजिक गङ्गटा पाइन्छन् । गङ्गटाको खुट्टा केलाइन्छ । त्यसपछि राम्रोसँग पखालेर तेलमा ‘फ्राई’ गरी पकाइन्छ । यसलाई फ्राइ वा सुप दुवै तरिकाले पकाएर खाने चलन रहेको चौधरीले बताउनुभयो । “लसुन र प्याजको मात्रा धेरै हाली पकाउँदा गङ्गटा निकै स्वादिलो हुन्छ”, उहाँभन्नु हुन्छ, “गङ्गटा सेतो रगत भएको जीव भएकाले हाम्रो रगतलाई राम्रो बनाउँछ भन्ने मान्यता छ ।” 

झिँगे माछा

पानीमा झिँगाजस्तै उफ्रेर हिँड्ने माछा झिँगे माछा हो । झिँगे माछा सबै समुदायले खान्छन् । थारुको पनि यो प्रिय परिकार रहेको थारु सी फुड्का चौधरी बताउनुहुन्छ । तलाउ, पोखरीमा पाइने यो माछालाई जालले छोपेर मारिन्छ । चौधरी भन्नुहुन्छ, “काँचो हुँदा कालोकालो रङको हुन्छ । तेलमा तारेपछि यो रातो हुन्छ । निकै मीठो र स्वादिष्ट पनि हुन्छ ।” झिँगे माछालाई प्रोटिन र क्याल्सियमको स्रोतका रूपमा लिइन्छ । उहाँले भन्नुभयो, “जाडोमा खाँदा शरीरलाई न्यानो पार्छ भन्ने मान्यता हाम्रो समुदायमा छ ।”

सानो बाम

सानो आकारको बाम माछालाई पनि थारुको प्रिय परिकार मानिन्छ । थारुले सानो बाम माछालाई तारेर सर्स्युँ र लसुनमा पकाउने चलन रहेको चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माछाजस्तै यसलाई विभिन्न तरिकाले पकाउन सकिन्छ । उच्च प्रोटिनयुक्त हुने र स्वादिलो हुने भएकाले थारु समुदायमा यो धेरै मन पराइन्छ ।”     

ऐँठा

घोँगीभन्दा ठूलो आकारको हुन्छ, ऐँठा । चौधरी भन्नुहुन्छ, “घोँगी चुच्चो आकारको हुन्छ भने ऐँठा अलि चेप्टो गोलो आकारको हुन्छ ।” उहाँ अनुुसार घोँगीलाई पोथी र ऐँठालाई भाले भनिन्छ । ऐँठालाई उसिनेर मासु निकालिन्छ । उसिनेपछि भित्रको मासुको भाग आफैँ बाहिर निस्कने उहाँ बताउनुहुन्छ । त्यसरी निस्केको मासुलाई सेकुवा वा तास बनाएर खाने चलन रहेको चौधरीले बताउनुभयो । ऐँठा पनि घोँगी जस्तै सामुद्रिक जीव भएकाले प्रोटिन र क्याल्सियमयुक्त मानिन्छ । – मोहन पनेरु/रासस


तपाइको प्रतिक्रिया दिनुहोस्