ललितपुर क्षेत्र नं. १ का जनप्रतिनिधिद्वारा कान्तिलोकपथ विस्तारका लागि अर्थमन्त्रीसँग भेट

ललितपुर । ललितपुर क्षेत्र नं. १ का संघीय सांसद उदयशम्शेर राणा, प्रदेश सांसद मीन कृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट गरी कान्तिलोकपथ विस्तारका बारेमा कुराकानी गरेका छन् ।

ललितपुरको सातदोबाटोदेखि हेटौंडासम्म छोटो राजमार्गको रुपमा रहेको कान्तिलोकपथ कछुवा गतिमा विस्तार भइरहेको अवस्थामा चाँडोभन्दा चाँडो निर्माण कार्य गराउन र आवश्यक बजेट निकासा गराई दिन संघीय सांसद राणा, प्रदेश सांसद महर्जन, मेयर महर्जन र उपमेयर अधिकारीले भेटको क्रममा आग्रह गरेका थिए । 

बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौंडा जाने सबैभन्दा छोटो राजमार्गको रुपमा रहेकोले पनि यसलाई चाँडो निर्माण कार्य गरी समयको पनि सदुपयोग हुने अवस्था रहेको अर्थमन्त्री पौडेललाई बजेट निकासा गराई चाँडो निर्माण कार्य सम्पन्न गराउन राणा, महर्जनद्वय र अधिकारीले आग्रह गरेका थिए ।

उपप्रधान तथा अर्थ मन्त्री पौडेलले कान्तिलोकपथ निर्माण कार्य सम्पन्न गराउनका लागि चाँडो भन्दा चाँडो आवश्यक बजेट निकासा गराई दिने आश्वासन दिएका छन् ।

साथै, कान्तिलोकपथ विस्तारका लागि मापदण्डभित्र परेको ठेचो, चापागाउँका घरहरुलाई क्षतिपूर्तिलागि समेत कुराकानी भएको थियो । सो विषयमा अर्थमन्त्री पौडेल सकारात्मक रहेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी गराए । गएको स्थानीय निर्वाचन, संघ र प्रदेशको निर्वाचनमा मत माग्ने क्रममा राजनीतिक दलका नेताहरुलाई सम्पूर्ण स्थानीयवासीहरुको कान्तिलोकपथ विस्तारको विषय उठाएका थिए । सोही अनुसार निर्वाचित प्रतिनिधिसभा सांसद उदय शम्शेर राणा, प्रदेशसभा सांसद मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीको कान्तिलोकपथ निर्माण सम्पन्न गराउने पहिलो प्राथमिकता रहेको हो ।



तपाइको प्रतिक्रिया दिनुहोस्