सर्वसाधारणलाई भने पाउनै सास्ती, विभागमा थन्किए ७ लाख राष्ट्रिय परिचयपत्र

2.5k Shares

काठमाडौं/राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन । अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन् ।

हालसम्म सात लाखको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण संकलनलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको बताए । ‘विभागको अहिले मुख्य काम विवरण संकलन हो । संकलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि’, उनले भने ।

परिचयपत्रका लागि देशैभर विवरण संकलन गरिए पनि अहिले वितरण भने सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालय तथा काठमाडौं र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट मात्र गरिएको  छ। २०७५ मङ्सिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीया वृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर थालिएको थियो ।

ढकालका अनुसार अहिले विभागले मुलुकभर एक हजार ६८ केन्द्रबाट विवरण संकलन गरिरहेका  छन् । अहिले नै ती केन्द्रले विवरण संकलनको सट्टा कार्ड वितरण गर्न थाल्ने हो भने संकलन अवरुद्ध हुनसक्छ। व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको कार्डभन्दा पनि त्यसको नम्बर आवश्यक रहेको निर्देशक ढकालले बताए । ‘कार्ड बोके पनि प्रयोग हुने त्यसको नम्बर नै हो । कार्डको फोटोकपी होइन । विवरण संकलनको समयमा जुन नम्बर दिइन्छ, त्यही नम्बर कार्डमा पनि हुन्छ । त्यसैले नम्बर पाउनु भनेको कार्ड पाउनुसरह नै हो ।’ हाल राष्ट्रिय परिचयपत्रको नम्बर राहदानी बनाउनका लागि अनिवार्य छ ।

एक करोड दुई लाखको विवरण संकलन

परिचयपत्रका लागि मङ्सिरसम्ममा एक करोड दुई लाख ९३ हजार १३७ जनाको विवरण संकलन गरी नम्बर प्रदान गरिएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ सम्ममा विवरण संकलन कार्य सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ । अहिलेसम्म ४५ जिल्लामा विवरण संकलन अभियान सम्पन्न भइसकेको र १६ जिल्लामा सञ्चालनमा रहेको ढकालले बताए । आजको गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार