राष्ट्रियसभा बैठक : गुणस्तरहीन औषधिदेखि महिला र बालबालिकामाथि भएका हिंसाका कुरा

काठमाडौँ/राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना,  पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले  नागरिकको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गरेकी छिन्। अर्का सदस्य गङ्गाकुमारी बेल्वासेले पछिल्लो समय महिला र बालबालिकामाथि भएका आक्रमणका घटनाले सुरक्षा जोखिम देखिएकाले सामाजिक सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सदस्य तुलसाकुमारी दाहालले आगामी शैक्षिक सत्रमा विद्यालयका पाठ्यपुस्तक अभाव हुन नदिन समयमै छपाइ कार्य गर्न तथा काठमाडौँको फोहर दीर्घकालीनरूपमा व्यवस्थापन गर्न समयमै ध्यान पुर्‍याउन आवश्यक रहेको बताइन् । सदस्य भगवतीकुमारी न्यौपानेले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पतालमा भर्ना भएका बिरामीले बेड पाउन कठिन भएकाले अस्पतालको स्तरोन्नति र उपचार सेवालाई सर्वसुलभ र सहज गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने भनाइ राखिन् । 

सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा उठेको विषयलाई मन्त्रीले जवाफ नदिएर यसको मान्यतालाई कमजोर तुल्याउने काम भएको बताउँदै सदनमा उठेको विषयमा मन्त्रीको जवाफ अनिवार्य होस् भने । अर्का सदस्य  शारदादेवी भट्टले तराई मधेसमा चलेको शीतलहरबाट ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएकाले बिरामीलाई औषधि र विपन्नलाई लत्ताकपडा उपलब्ध गराउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन्।


तपाइको प्रतिक्रिया दिनुहोस्