नागरिकता विवाद मुद्दा रविको आजदेखि अन्तिम सुनुवाइ

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट अन्तिम सुनुवाइ हुने भएको छ ।
संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ हुने भएको हो । संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्ने छ ।
यसअघि अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश अस्वीकार गरिए पनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो ।
लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्