ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

2.8k Shares

पाटन/ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् ।

विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव । कालेश्वर महादेव ललितपुर जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य हो, एक महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ कालले पनि तपस्या गरेको थियो भन्ने किम्बदन्ती छ । 

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा हालको कालेश्वरमा आई कण्ठ पतन भएको थियो । प्राचीनकालमा त्यस ठाउँमा काल पुरूषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कठोर तपस्या गर्दा गोटीखेलको घडघडा नदी र मसानखोलाको सङ्गमस्थलमा रहेको वैतरणी नदीको जल र सिसवनमा रहेको अलौकिक चुनढुङ्गाको चन्दन घोटी लगेर यस पहाडको टुप्पोमा चढाउने गर्दथ्यो ।

तपस्या थालेको धेरै वर्षपछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई कालपुरुषको तपस्याबाट प्रभावित भएर तिमीले स्थापना गरेको शिवलिङ्ग तिम्रै नाममा प्रख्यात हुनेछ भनी वरदान दिएको र उसैको नामबाट स्थापित भएकोले कालेश्वर महादेव भनिएको भन्ने भनाइ छ । 

कालेश्वर महादेवलाई ललितपुरको प्याङ्गाउँवासी आफ्ना आराध्यदेवका रूपमा लिएर कुलदेवताका रूपमा पुज्ने गर्दछन् । समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन दर्शनका लागि उपस्थित हुने गर्दछन् ।

 प्याङगाउँमा रहेको आंगःछे (देवस्थल) मा हरेक महिनाको औँसी र चतुर्थीको दिनको दुई पटक पूजा हुन्छ, जुन कालेश्वर महादेवकै आंगःछे हो । यसलाई कालेश्वर महादेवकै प्रतिमूर्तिको रूपमा ल्याएर प्रतिस्थापन गरिएको हो । तर यहाँभित्र जोसुकै जान मिल्दैन, यसका निश्चित नीतिनियम छन् । आंगःछे भित्र मूल पूजारी, गुठियार तथा नाइकेहरू मात्र जान पाउँछन् । 

प्याङ्गाउँका नेवार पहिले ललितपुरको शङ्खु ९हाल कोञ्ज्योसोम गाउँपालिका–२० मा बसोबास गर्थे ।  पौराणिककालमा प्याङ्गाउँलाई शङ्गु भनिन्थ्यो । हाल प्याङ्गाउँमा रहेको पाटी ९फल्चा०मा अरिमल्लको पालाको शिलापत्र भेट्न सकिन्छ । गाउँमा बसी आएकालाई नेवारहरूले गामों भन्दछन् । प्याङ्गाउँवासीलाई पनि चापागाउँ बजार, ठेचो, पाटनलगायतकाले पहिले पहिले गामों वा गामल भन्थे । पछि २०२१ सालतिरदेखि उनीहरूलाई गामोंको सट्टा ज्यापू वा महर्जन भन्न थालियो ।  

पौराणिक इतिहासअनुसार भक्तपुरमा बसोबास गर्ने मल्लराजाका सन्तान व्यापार वा सिकारको सिलसिलामा ललितपुरको शङ्खुमा गई बसोबास गर्दै गर्दा त्यहीँकी एक युवतीसँग  प्रेम बस्न गई शारीरिक सम्बन्ध रहन गयो र सन्तान उत्पत्ति भए । राजाका रखौटी श्रीमतीपट्टिका सन्तान भएकाले दरबारमा नस्वीकारिएपछि यस ठाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ (बाँस) को पाथी बनाएर बेचबिखन गरी खान लालमोहर लगाएर आदेश भएअनुसार यहाँ यो बस्ती बसेको र प्याङपाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ । 

शङ्खुमै रहँदाबस्दा एक दिन घुम्दै गिम्दीमा रहेको देउता खोला पुग्दा  एकजना गामलले लहराबाट दूध जस्तै सेतो पदार्थ तपतप चुहिरहेको देखे । त्यसलाई पच्छ्याउँदै माथि माथिसम्म आउँदा कालेश्वर महादेवको शिवलिङ्ग भेट्टाएको ऐतिहासिक कथा पनि छ ।  कालेश्वरको टुप्पोबाट नै बग्दै गएको खोलालाई देउता खोला भनिन्छ । यसै बेलादेखि नै यस स्थानमा अवस्थित महादेवलाई शक्तिको रूपमा पूजा गर्न थालिएको बताइन्छ । 

“कालेश्वरको शिवलिङ्ग धेरै पछिसम्म पनि खुल्ला रूपमा रहेको थियो । यातायातको असुविधा, निकै ठूलो उचाइमा  रहेको र बस्ती पनि नरहेको यस स्थानमा विकासका पूर्वाधार पु¥याउने र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सम्भाव्यताको बारेमा सरकारी निकायलगायत सम्बन्धित कसैले पनि सोच्न सकेका थिएनन्”, कालेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष चर सुन्दर महर्जन भन्नुहुन्छ, “आफ्नो कुलदेवता खुल्ला रहेको र संरक्षण नभएको पाएपछि २०५२ सालतिर प्याङगाउँका एक दुई जनाले गएर मूर्तिलाई बीचमा पर्ने गरी चारैतिर ढुङ्गाको गाह्रो लगाए । दुई ढोका र झ्याल राखे । पाँच/छ घण्टा टाढा तल रहेको वाग्मतीबाट बालुवा र पानी बोकाएर माथि ढलान गरे ।”

महर्जनका अनुसार विसं २०७१ मा उक्त मन्दिरको भवन भत्कियो । प्याङगाउँवासी हेर्न आउँदा बिजोग लाग्दो स्थिति देखियो । उतिबेला गोटीखेल गाविस थियो, गाविसले पनि प्याङगाउँवासीको देउता भनेर बेवास्ता गरिराखेको अवस्था थियो । अहिले पनि गोटीखेलवासीलगायत स्थानीय जनप्रतिनिधिले यो प्याङगाउँवासीको हो भनेर हेला गर्ने गरेको अध्यक्ष महर्जन बताउनुहुन्छ ।

विकासका पूर्वाधार पु¥याउन सके स्थानीय तहलाई नै पर्यटन व्यवसायमार्फत फाइदा पुग्नसक्छ, तर यहाँको पर्यटकीय सम्भावनाको बारेमा स्थानीय सरकारलाई समेत ज्ञात छैन ।  अहिले  सिसवनमाथि देउराली भन्ज्याङसम्म सडक त पुगेको छ, तर थप पर्यटकीय पूर्वाधार पु¥याउन सम्बन्धित निकायको ध्यान पुग्ननसकेको स्थानीयवासी बताउँछन् ।  

आफ्ना कुलदेउताको संरक्षण र मन्दिरको पुनःनिर्माणमा कसैको चासो पुग्न नसकेपछि प्याङगाउँमा सम्बन्धित गुठियार र सरोकारवालाको भेला राखियो । भेलाबाट साधारण तरिकाले भए पनि मन्दिर निर्माण गर्ने सल्लाहबमोजिम कम्तीमा पनि रु आठ/नौ लाख पर्ने इस्टिमेट निस्कियो । प्रत्येक घरधुरीबाट एक/एक हजार अनिवार्य उठाउने निर्णय गरियो । सामग्री मन्दिरसम्म पु¥याउनका लागि पालैपालो सबै बोकेर जाने निर्णय भयो ।  

कालेश्वरको देब्रेपट्टि अग्लोडाँडा छ जसलाई बुर्जाडाँडा भनिन्छ । त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलो लाग्ने गर्दछ । जहिले पनि आफूभन्दामाथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वरडाँडा भन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन छ ।

त्यहाँबाट हिमालको दर्शनका साथै अनेकौँ हरिया थुम्का देखिन्छन् । कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा ठूलो चट्टान सानो चट्टानमा अडिएको देख्न सकिन्छ । काल पुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ । सोही चुनढुङ्गालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्छन् । देख्दै अचम्म लाग्ने उक्त बडेमानको ढुङ्गा २०७२ को गोर्खा भुइँचालो जाँदा पनि कसरी अडिएको होला भन्ने उत्सुकता जो कोहीलाई लाग्ने गर्दछ ।

कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ । गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ । गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान सकिन्छ । लगनखेलबाट गोटीखेल करीब ५० किमीको दूरीमा रहेको छ । 

लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ ९चौघरे०, कतवन भएर गोटीखेल जाने बस छुट्छन् । वैकल्पिक मार्गका रूपमा बनेपा पनौतीबाट खोपासी ढुङ्खर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ । गोटीखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्दैनन् । कालेश्वर पुग्न गोटीखेलबाट करिब चार घण्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन करिब दुई घन्टा समय लाग्छ ।

कालेश्वरको टुप्पोबाट तराईलगायत काभ्रे, मकवानपुरका अधिकांश क्षेत्रका साथै गणेश र लाङ्टाङ हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । ऐतिहासिक धार्मिक महत्त्व बोकेको कालेश्वर पछिल्लो समय एक उत्कृष्ट र सम्भावनायुक्त पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गइरहेको छ ।  -माधवप्रसाद घिमिरे/रासस

सम्बन्धित समाचार