गोपाल ढकाल - मनोविद्
मान्छेको मन पनि मौसम जस्तै हुन्छ । अदल बदल भईरहन्छ । हाम्रो मनको अबस्था कस्तो छ त्यहि अनुसार हाम्रो मुड निर्धारण हुन्छ । मानिसको मुड (मनोदशा) सधै एकै नास हँुदैन । हामी कहिले कुन मुडमा हुन्छौ त कहिले कुन मुडमा हुन्छौ । कहिले हामी उत्साहित हुन्छौं, कहिले मुड अफमा पनि हुन्छौ । मुड अफ वा खराब मनोदशामा भएको बेला ब्यक्ति निराश वा दुखी देखिन्छ भने मुड फ्रेस भएको बेला आनन्दित हुन्छ ।
बेला बखत हामी सबैको मुड अफ वा मुड खराब हुने गर्छ । यो सामान्य कुरा हो । तर लामो समयसम्म मुड अफ हुन्छ र हाम्रो दैनिकीलाई असर पु¥याउँछ भने यो डिप्रेसन, फस्टेसन, एन्जाईटि, ब्यक्तित्व सम्बन्धी गडबढी वा मुड डिसअडर्स सम्बन्धी मानसिक रोगका कारणले हुन सक्छ ।
मुड अफ किन हुन्छ ?
मुड खराब यहि नै कारणले हुन्छ भन्न सकिँदैन । कुनै कुराले तनाव दिँदा, आफुले सोचे जस्तो वा भने जस्तो नहुँदा, कुनै समस्या आईपर्दा, कसैसँग झगडा पर्दा, कामको चाप बढ्दा, प्रतिकुल वातावरण, होहल्ला, पोलुसन वा खराब मौसम, गाली, बुलिङ्गको कारणले पनि हाम्रो मुड अफ हुने गर्छ । यसैगरी शारीरिक थकान, शारीरिक रोग वा पीडा, पोषिलो खाने कुराको कमिले पनि मुड खराब हुन्छ । सम्बन्ध बिग्रद, नरमाइलो वा दःुखद समाचार सुन्दा, अनिन्द्रा जस्ता कारणले पनि ब्यक्तिको मुड अफ हुन सक्छ । हर्मोनमा परिवर्तन आउँदा जस्तो महिलाहरु महिनावारी हुँदा, गर्भवती हुँदा पनि मुड अफ हुने गर्छ । औषधीको असर, जाडरक्सी, लागू प्रदार्थको सेवन आदिले पनि मुड अफ हुन सक्छ ।
मुड अफ हुँदा केके हुन्छ ?
मुड अफ भएको बेला ब्यक्ति दुखी हुने, चिन्तित देखिने, निराश हुने, पिर गर्ने, रिस उठ्ने, झर्को लाग्ने, बोल्न मन नलाग्ने, काम गर्ने जोश जागर नचल्ने, आत्मबल गिर्ने, बेचैनी हुने, निन्द्रा नपर्ने, भोक नलाग्ने वा धेरै खाने, शरिरमा शक्ति नै नभए जस्तो लाग्ने, थकान महसुस हुने, ध्यान केन्द्रीत गर्न नसक्ने, चाडो बिर्सने जस्ता समस्या देखिन सक्छन् । मुड अफ वा खराब हुँदा यसले हाम्रो सोच बिचार, व्यवहार र कार्यमा समेत प्रभाव पार्छ ।
कुनै जटिल समस्या पनि हुन्छ कि ?
‘आज मेरो मुड अफ छ – कसैसँग बोल्न, काम गर्न नै मन लागेको छैन’ भन्ने जस्ता कुरा हामी बेला बखत गर्ने गर्छौ । हाम्रो मुड छोटो समयको लागि केही मिनेट, घण्टा वा केहि दिनसम्म पनि अफ हुन सक्छ । तर निरन्तर लामो समयसम्म मुड अफ भइरहन्छ भने यो डिप्रेसन, फस्टेसन, एन्जाइटी, ब्यक्तित्वसँग सम्बन्धित गडबडी वा अन्य मुड डिसअडर्स सम्बन्धी मानसिक रोगका कारणले भएको हुन सक्छ । मानसिक रोगको कारण मुड अफ भएको हो भने विज्ञको मदत लिनु पर्ने हुन्छ ।
मुड अफ कसरी ठिक गर्ने ? के के गर्ने ?
मुड अफ हुँदा स्व हेरचाहबाट हामीले आफ्नो मुडलाई ठिक गर्न सक्छौं ।
मुड अफ हँुदा मनलाई शान्त बनाउने क्रियाकलाप गर्नुपर्छ । पानी प्रशस्त पिउने जसले मनलाई शान्त राख्न मद्दत गर्छ । मुड अफ हुँदा आनन्ददायी अभ्यास गर्ने, श्वासप्रस्वासको अभ्यास गर्ने, लामो गहिरो श्वास लिने, छोड्ने गर्नु पर्छ । ध्यान वा माइण्ड फुलनेसको अभ्यासले पनि मुड फ्रेस हुन्छ ।
रमाइलो गित–संगित सुन्ने, नाच्ने, गाउने, खुल्ला हावा, फुलबारी वा बगैचामा घुम्ने गर्नुपर्छ ।
मुड अफ हुँदा आफुलाई मन पर्ने रमाइलो कार्यमा संलग्न हुने, रमाइलो कमेडि फिल्म हेर्ने, जोक्स पढने, सुन्ने, घुम्न जाने, मिल्ने साथीभाईसँग भेटघाट गर्ने, रमाइलो कुराकानी गर्ने गर्नुपर्छ । मुड अफ भएको बेला कफि, चकलेटको सेवनले मुडलाई राम्रो बनाउँछ ।
तनावले पनि हाम्रो मुड अफ हुने हुदा तनाव कम गर्ने क्रियाकलापमा संलग्न हुने, आराम गर्ने, रिफ्रेस हुने गर्नुपर्छ । शारीरिक ब्यायम वा योगा गर्नाले मुड सकारात्मक हुन्छ । मुड अफ बनाउने ब्यक्ति, घटना, परिस्थितिबाट केही समय टाढा हुँदा पनि फाईदा हुन्छ ।
मुड अफ हुँदा ध्यान दिनुपर्ने कुराहरु ?
मुडअफ भएका बेला चिडचिडाहट हुने, झर्को लाग्ने, सानो सानो कुरामा पनि रिस उठ्ने, विवाद पर्ने, झगडा हुने हुन सक्छ । त्यसैले मुड अफ भएको बेला शान्त रहने, आराम गर्न, कम्तिमा ८ घण्टा सुत्ने, शारीरिक ब्यायम गर्ने, पोषिलो खाने कुरा खाने गर्नुपर्छ । मुडअफ भएका बेला महत्त्वपूर्ण निर्णय लिनु हुँदैन । कुनै समस्यामा परेको भए समस्याको हल खोज्न पट्टि लाग्नु पर्छ । मुड अफ भयो भनेर मुड फ्रेस गर्न भन्दै जाड– रक्सि तथा नशालु प्रदार्थको सेवा गर्नु हुदैन । यसले मुडलाई झनै खराब बनाउँछ ।
सानो सानो कुरामा पनि धेरै चिन्ता लिने, धेरै सोच्ने, भाबुक हुने ब्यक्तिमा पनि मुड स्विङ्गको समस्या देखिन सक्छ । सानो सानो कुरामा चिन्ता लिने, धेरै सोच्ने बानीलाई हटाउनु पर्छ ।
कुनै समस्यामा परेमा समाधानको लागि आबस्यकता अनुसार साथीभाइ, आफन्त वा बिज्ञको मदत समेत लिनुपर्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्